Frontline NepalFrontline NepalThe Entrepreneurship & Development Foundation

हार्दिक अपिल

16 September 2025Notice

हालै नेपालमा नविन युवा पुस्ता (Gen-Z) को आयोजनामा भएको शुसासन र भ्रष्टचार विरोधी शान्तिपूर्ण आन्दोलनसँगै भड्किएको हिंसात्मक गतिविधिमा मानवीय क्षति, सरकारी तथा सार्वजनिक भौतिक संरचना, निजी र व्यवसायिक सम्पत्तिमा भएको तोडफोड भएको विडम्बनापूर्ण घटना प्रति अत्यन्तै दुःखीत भएका छौँ। आन्दोलनका क्रममा शहादत प्राप्त शहिद तथा मृतक सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली तथा घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

देश भर्खरै भूकम्प र कोभिड–१९ महामारीको गम्भीर असरबाट उठेर अर्थतन्त्रले भर्खरै बामे सर्न थालेको थियो। यस्तो अवस्थामा पुनः यो पछिल्लो आन्दोलनसँगै भएको यो दुर्घटनाले मुलुकका अर्थतन्त्रका मेरुदण्डका रुपमा रहेको ठूला उद्योगी तथा व्यवसायीक घराना, मझौला व्यवसायी तथा साना उद्यमीहरू सबैलाई गहिरो चोट पुर्‍याउनुका साथै असुरक्षा र अन्यौलता थपेको छ। जसले गर्दा मुलुकका लागि कर योगदान, रोजगारी सिर्जना र मुलुकको समग्र आर्थिक पुनर्निर्माणमा जुटिरहेका उद्यमशील समुदायका लागि यो थप निराशाजनक परिस्थिति बनेको छ।

हिंसात्मक गतिविधि, तोडफोड र विरोधको राजनीतिले मुलुकको शान्ति, सामाजिक सद्भाव मात्र नभई आर्थिक जीवनशैलीलाई पनि क्षति पुर्‍याउँछ भन्ने हामी सबैले बुझेका छौँ। यस्तो चुनौतीपूर्ण अवस्थामा राज्य, सरोकारवाला निकायहरू, राजनीतिक दल, नागरिक समाज र सबै पक्ष मिलेर संवाद, शान्तिपूर्ण उपाय र साझा जिम्मेवारी मार्फत समस्याको समाधान खोज्नु आजको अपरिहार्यता हो।

यसै सन्दर्भमा, निजी क्षेत्र र उद्यमी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्ने, आत्मबल अभिवृद्धि हुने नीति तथा व्यवस्था निर्माण गर्ने, र तमाम युवा वर्गलाई स्वदेशमै रहेर आत्मनिर्भर भएर काम गर्ने वातावरण तयार गर्न सरकारसँग माग गर्दछौँ।

Back to all posts